हामी यहाँ छौ

हाम्रो साथमा

Saturday, March 6, 2010

PostHeaderIcon प्यारो साथी कृष्ण आरामछु, साथै कुशलताको कामना गर्दछु।

नबराज"पीडित",   अनेसास सदस्य कुबेत
कृष्ण तैले पठाएको ईमेल हिजो पढे कता–कता भित्र–भित्रै खुशी पनि लाग्यो अनि दुःख पनि किनकि तँ पनि छिट्टै कुवैत आउँदै रहेछस् आखिर किन… कृष्ण उही मथिल्लो घरको भुण्टेको देखेर की माझ पाटा गोरेको देखेर मलाई निक्कै खुल्दुली लागि रहेकोछ । तैंले त आफ्नै जन्मभूमि,आफ्नै गाउँ,आफ्नै परिवार, उकाली ओराली,भञ्ज्याङ्ग,चौतारीमा रमाउँदै तरकारी खेती गरेर पनि टन्न पैसा कमाएकै थीइस । परिवारलाई अरुले भन्दा राम्रोसँग राखेकै थीइस,छोरा छोरी पनि बोर्डिङ् स्कुलमा पढाएकै थिइस,कोही भन्दा कम पनि थिइनस्,गाउँका सबैले मान्थे,समाजसेवा र गाउँको उन्नती र प्रगतिको लागि तैले पुर्याएको योगदान कसैले भुल्न सक्दैन थिए, गाउँमै परिवारको साथ बसेर दाम र नाम दुवै कमाएकै थिइस, के भयो तलाई “धन भने पछि महादेवको तीन नेत्र”
भने झैं तलाई पनि अझै धेरै कमाउन मन लाग्यो होला हैन सुन्छस् म बसेको कुवैत देशमा नेपालीहरुको कथा अनि तँ आफै सोच विचार गर । म पनि अरब गएर खरब कमाउने सपना बोकेर आफुले गरिरहेको पेशा छोडेर विदेशिएको थिए। म आज भन्दा सातबर्ष पहिला कुवैत आउँदा लगभग १५,१६हजार नेपाली छन् भन्थे नेपालीहरुको जमघट हुने मालियाको पोस्ट बक्स अगाडिको पार्कमा २,४ जना नेपाली मात्र भेटिन्थे,सगरमाथा रेष्टुरेण्टमा नेपाली परिकारहरु मःमः, सुकुटी, छोइला, चाउमिन, सेलरोटी खानेको चहल-पहल हल्का रुपमा हुन्थ्यो, नेपाली चेलीबेटी देख्न पनि निकै रहर हुन्थ्यो,साइली दिदीको साथमा १,२ जना दिदी बहिनी देख्दा पनि निक्कै खुशी लाग्थ्यो नेपाली समाजको पहिचानको लागि कुवैतमा माउण्ट एभरेष्ट क्लब क्रियासिल थियो। आज यहाँको माहोल बदलिएको छ । लगभग ४० हजार नेपालीहरु कार्यरत छन् । सबैका आफ्ना आफ्नै राम कहानि छ । १६,१७ वटा जती नेपाली समाजको उत्थान र पहिचानको लागि संघ संस्थाहरु खुलेका छन्। एन.आर. एन.ए. गठन भैसकेको छ र नेपाली दूतावास पनि खुलेकोछ। नेपाल कुवैत डटकम,कुवैत नेपाल डटकम र मरुभूमिको कोसेली छापा पत्रिका मार्फत नेपाली पत्रकारहरु, नेपाली पत्रकारिता, नेपाली समाजको विकास र पहिचानका लागि कलम चलाई रहेकाछन् । तर पनि यहाँ नेपालीहरुको कथा र ब्यथा दुःख र पीडाको चर्चा गरि साध्यै छैन। सिंगो किताब तैयार हुन्छ । जान्न र बुझ्न चाहन्छस् भने म थोरै मात्र भए पनि तँलाई सुनाउन चाहन्छु परदेशी भूमिमा हुने मैले देखेका राम कहानी बडर पाते साइलाले नेपालमा दलाललाई टन्न पैसा दिएर आएको रे यहाँ त सफाई कम्पनीमा नेपाली १२ हजार मासिक तलबमा काम गर्न बाध्य भएकोछ । उता तल्ला घरे रामे त मरुभूमिमा भेडा र ऊँट हेर्ने काममा परेछ। टोपेले त भनेको समयमा तलब पनि पाउँदैन रे , पेट भरि खान पनि पाउँदैन रे, त्यस माथि मालिकको गाली र कुटाइले बिमारी नै परेकोछ । उता नेत्रे त झाडु मार्ने र सडक सफाइ गर्ने काममा परेकोछ, उस्को झनै बेहाल छ । श्यामेले आएको रिन तिर्नको लागि भनेर १६ घण्टा डियुटी गर्दैछ । अनी केटा साथी केटी साथी बनाउने त यहाँको फेशन जस्तै भइसकेकोछ । मानेको त कुरै नगरौं उसले त खोइ कताकी हुन क्यारे मैया बिहे गरेर बाहिर डेरा गरेर बस्थ्यो,गैर कानूनी भनि यहाँको पुलिसले भेटेर जेल चलान गरेछ । आमै नी चौताराकी माइलीलाई त घर धनीले कुट्ने, चुरोटको ठुटाले पोल्ने गर्थ्यो रे, उनि त सहनै नसकेर भागेर नेपाली संघ संस्थाको सहयोगमा हार गुहार गर्दैछे रे। ओहो माथिल्लो घरकी बाटुलीले त मालिकको मानसिक तथा शारीरीक शोषण सहन नसकेर आत्मा हत्या नै गरिछन्। पुलिस केस चलिरहेको छ ,३ महिना भयो नेपाल लास पठाउन पनि पाएकोछैन ।ओखोरबोटे नरेदाई नेपालबाट आउँदा ढाका टोपी लगाएर आएको थियो भेट हुँदा कति मिठो बोल्थ्यो अहिले त दाँया बाँया केटीहरु लिएर कानमा मुन्द्रा, हातमा चुरोट, टाउका माथि चश्मा राखेर बजार घुम्छ। अनी साँची सुन्तलीको त कुरै नगरौं गाउँमा हुँदा हामीसँग सोधेको कुराको उत्तर दिन लजाउने, यहाँ आउँदा कुर्था, सुरवाल, लगाएर आएकीथिई , बेला बेलामा साडी र ब्लउज लगाएर घुम्दा पनि नेपाली पहिरन मै हुन्थी, तर हिजो आज त उसँग बोल्न सकिदैंन, बोली त छुरा समान भएकोछ, मिनिस्कर्ट, जामा, हाफ पाइन्ट, टिसर्ट, टाउकामा चस्मा, हातमा मोबाइल कुरा गरि साध्यै छैन । ओखोरबोट हर्केले त नेपालमा बिहे पनि गरेकोछ क्यारे मोज मस्ती गर्ने उसको बानि यहाँ पनि छुटेकोछैन । त्यसैको फलस्वरुप यहाँ पनि बच्चाको बाउ पो भएछ । कहिलेकाही भेट हुँदा आफुले गरेका गल्ति सम्झेर गुनासो गर्दै रुन्छ। बुट्याने काले त गर्मीले होकी केले हो कुन्नी खाना खाएर सुतेको रे,सुतेको सुतेयै भएछ । लास नेपाल पठाउन भनि यहाँका नेपाली दाजु भाई दिदी बहिनीले पैसा संकलन गर्दैछन् अब छिट्टै उसको शरीर नेपाल पठाउँछन् होला । उता जाडोमा जाडो, गर्मिमा ५०,५५ डिग्रीको तापक्रम अनी तातो हावामा सडक बनाउने, घर बिल्डिङ्ग बनाउने, तेलका पाइपहरु पुर्ने काममा परेका र बाहिर गेटमा सेक्युरिटीको डियुटी गर्ने साथीहरुको दुःख पनि बयान गरेर सकिंदैन भने नेपालबाट जुन कामका लागि भनेर आएको त्यो काम नपाएर अलपत्र परेका साथिहरुको त झनै दुःख लाग्दो स्थिती छ।

कृष्ण, मैले यसो भन्दा आफू गएर टन्न दाम कमाएको छ, मलाई कमाउँछ भनेर नआइज भन्यो भन्ने तँलाई लाग्न सक्छ । मैले त तँलाइ साथीको नाताले जानकारी मात्र गराएको हुँ। “भिरमा गएको गोरुलाई राम राम मात्र भन्न सकिन्छ काँध हाल्न सकिंदैन” भन्ने उखान नै छ कि कसो सोच विचार गरि पाइला चालेस्। नेपालका म्यानपावर कम्पनीको भर पनि नपर्नु डुबाई कतार,कुवैत लाने भनेर इराक, अफ्गानिस्तान पुर्याएर नेपालीहरुलाई अलपत्र पारेको खबर त सुनिरहेकै होलास्। यदि त आउँने नै भए नेपाल सरकारको श्रम स्वीकृती गरेर मात्र आएस, तलब कति, काम कस्तो, सबैको टुँङ्गो लगाएर मात्र कन्ट्रेक्ट पेपरमा साइन गरेस् । दलालले जति भन्यो उती दाम् नदिएस् बैदेशिक रोजगारीका मापदण्ड अनुसारको पैसा दिएस । यो कुरा बिदेश जान लागेका गाउँका साथीहरुलाई पनि बताएस । ल है विचार गरेस, “चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी” भने जस्तो नहोस् । यो मेरो सुझाव मात्र हो। ईमेल धेरै लामो भयो तँलाई पढ्न पनि बोर लाग्ला अर्को इमेलमा लामो गन्थन गरौंला तबसम्मको लागि विदा चाहन्छु ।

उही तेरो परदेशी मित्र नबराज, कुवैतबाट



(माथि उल्लेख गरिएको पात्रहरु भने काल्पनिक हुन,कसैको नामसँग मिल्न गए संयोग मात्र हुनेछ।

0 comments:

Post a Comment